नेपाल सम्वत् : सबै नेपालीको साझा मौलिक सम्वत्

-



     सफल आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित



भक्तपुर, १ मङ्सिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ सबै नेपालीकाे साझा माैलिक सम्वत् भएकाे बताएका छन् । नेपाल सम्वत् ११४१ को अवसरमा मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उनले नेपाल सम्वत् एकलजातिको मात्र नभई सबै नेपालीको मौलिक सम्वत् भएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले अहिले नेपाल सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत् घोषणा गरे पनि सबै नेपालीले यसलाई अपनत्व ग्रहण गर्न नसकेकाले यसलाई नेवार समुदायको मात्र भनेर गलत बुझाइ रहेको बताए । अब यसलाई सबैको सम्वत् बनाउनु आवश्यक छ, उनले भने । विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसंङग कोट्याउँदै उनले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताए ।

नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने गरेको उनकाे भनाइ थियाे । समाजसेवी साख्वाःले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको बताए । जनताको ऋण मोचन गरेर मौलिक सम्वते चलाउने ब्यक्तित्व कुनै जातविशेषको मात्र नहुने बिचार व्यक्त गरे ।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शङ्खधरको शालिक बनाइ रहेको उल्लेख गर्दै नेपाल सम्वत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले राष्ट्रिय विभूति साख्वाःले पु¥याएको योगदानको चर्चा गर्दै साख्वाःले जस्तै नेताले पनि देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री तथा सांसद भीमसेनदास प्रधानले नेपाल सम्वत्लाई नेवार समुदायले आफ्नो पेवा जस्तो बनाउन नहुने भन्दै शङ्खधर कुनै जात विशेषको मात्र नभएले सबैको साझा भएको बताए । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले शङ्खधर तथा नेपाल सम्वत्लाई सरकारले संरक्षण एवम् सम्बद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएकाे शुभकामना सन्देश सुनाइएकाे थियाे ।