अस्पतालमा देखियो फरक दृश्य, नर्सले लगाइदिए बिरामीलाई भाइटीका

-



     सफल आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित



चितवन,२ मङ्सिर । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामीका लागि भने विगतका पर्व सम्झेर अस्पतालको श्यैया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन । तर टीकाकाे दिन चितवन मेडिकल कलेज भरतपुरमा फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर १५७ जनालाइ भाइटीका लगाइ दिए ।

पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले । नर्सहरुले सैयामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरूकै श्यैयामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिइन । उनले भनिन, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उनीहरुले लगाउने त कुरै भएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।” नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन ।

बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङले पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिइन । भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामाले पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको बताए । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजाले पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको तर टीका लगाउन पाएकाेमा निकै खुसि लागेकाे बताए ।

अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताए । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुका साथै भाइमसला, फलफूल तथा मीठाइ वितरण गरेका थिए ।