हुम्लामा हिमपात

-



     सफल आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित



हुम्ला, २ मङ्सिर। हुम्लामा दुईदिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो निकै बढेको स्थानीयले बताएका छन् ।

बिहानै तापक्रम माइनस पाँच डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए ।

लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताएका छन् । आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो ह्वात्तै ढेको छ ।