आकाशमा प्याराग्लाइडिङ ताँती, पर्यटनमा आशाको संचार

-



     सफल आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित



पोखरा, २ मंसिर । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन कोरोना भाइरस (कोभिड–१९) प्रभावले नराम्ररी थला पर्दा पोखरेली आकाशमा प्याराग्लाइडिङ ताँतीले भने केही उत्साह संचार गरेको छ ।

करिब ६ महिनासम्म ठप्प प्याराग्लाइडिङ क्षेत्र असोज दोस्रो सातादेखि चलायमान हुन थालेको हो । फेवातालमाथिको आकाश नै ढाकिने गरी ग्लाइडर फन्कोले पर्यटन प्रवद्र्धनमा केही भए पनि सघाउ पुगेको पर्यटन व्यवसायी बताउँछन् ।

सुरुवातमा नगण्य उडान रहेकोमा आधा छुटले अचेल दैनिक ६ सयसम्म उडान हुने गरेको प्याराग्लाइडिङ संचालकहरुको संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । मानिसले अपेक्षा गरेभन्दा फरक हुन गइदियो । यो छुटले आकाशमा चराझैं घुम्ने रहर पालेकाहरु थप आकर्षित बने । उड्नेहरु साना केटाकेटीदेखि वृद्धावृद्धासम्म छन् ।

प्याराग्लाइडिङ चढ्ने रहरले चितवनबाट विकास कार्कीको ४ सदस्यीय परिवार अघिल्लो साता पोखरा आयो । श्रीमती र दुई छोराछोरीसहित विकासले यहाँ प्याराग्लाइडिङ उडेर रहेर मेटे । विगतमा चारै जना उड्दा कम्तीमा २०/२५ हजार रुपैयाँ खर्चिनु पर्नेमा अहिले छुटले उनीहरुलाई सुविधा दियो । मात्र १२ हजार रुपैयाँमै विकासको परिवारले फेवातालमा कावा खाँदै माछापुच्छेको स्पर्शमा स्वर्ग अनुभूति गरेको बताउँछन् ।

प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र, फेवाताल किनारमा भिड।

प्याराग्लाइडिङ कम्पनीले नेपालीलाई आधा घण्टा उडाएको विगतमा ७ हजार रुपैयाँसम्म लिने गरेकोमा अहिले ५० प्रतिशत बढी छुट दिएको ना अध्यक्ष कृष्ण भण्डारीले बताए । उड्नका लागि दुईतीन दिन पहिले नै बुकिङ गरिसक्नुपर्छ । नत्र पालो पाइँदैन । मौसमको साथ, भारी छुट, फुर्सद सदुपयोग गर्दै मानिसहरु काठमाडौं, चितवन, बुटवल, धरान लगायत टाढाटाढाबाट यहाँ आउने गरेका छन् । विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकले अहिले यो व्यवसाय धानिरहेको छ ।

मानिसको भिडले व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको विभिन्न कम्पनी संचालकको भनाइ छ । विगतमा महँगो भएकाले प्याराग्लाइडिङ गर्न नसक्ने समेत अहिले अनुभवका लागि आउने गरेको प्याराग्लाइडिङ संचालक भूपाल गुरुङले सुनाए ।

ना अध्यक्ष भण्डारीले कोभिड–१९ जोखिमका कारण पहिलेको तुलनामा अहिले उडानलाई व्यवस्थित गर्दै लगिएको दाबी गर्दछन् । उनका अनुसार मानिसको एकैपटक भिडले कोरोना संक्रमणको जोखिम बढाएकोले संस्थाले ३ सिफ्टमा कम्पनीहरुको वर्णानुक्रमअनुसार उडान अनुमति दिने गरेको छ । यसरी एउटा कम्पनीले एक दिनमा १२ वटासम्म उडान भर्न पाउँछ । जसमा ६–६ वटासम्म उडान गर्न सकिन्छ । नाअन्तर्गत यहाँ ६१ कम्पनी छन् । तीमध्ये अहिले ५० वटा संचालनमा आएका छन् । केही अझै खुलेका छैनन् । दिनमा एक जना पाइलटले २ जनालाई मात्र उडाउन पाउने गरी व्यवस्था मिलाइएको छ । यस्तै, कोरोनाविरुद्ध स्वास्थ्य सचेतना अपनाउँदै यात्रुको तापक्रम नाप्ने, अनिवार्य मास्क प्रयोग, सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।

कोरोनाले प्याराग्लाइडिङ कम्पनीले ५० करोड रुपैयाँसम्म

घाटा व्यहोरेको अनुमान छ ।

कोरोनाले प्याराग्लाइडिङ कम्पनीले ५० करोड रुपैयाँसम्म घाटा व्यहोरेको अनुमान छ । ना अध्यक्ष भण्डारीले भने, ‘कोरोना प्रभावसँगै सरकारले उडान रोक्दा करिब ५० करोड घाटा हुन गएको थियो । व्यवसाय चौपट्ट हुने भयो भनी चिन्तित व्यवसायीहरुले उडानमा भारी छुट दिएपछि मानिसको भिड बढ्दा आशाको संचार भएको हो ।

पोखरा–१८, सराङकोटका ३ स्थान र नजिकैको तोरीपानीको टेक अफ क्षेत्रबाट उडान भरी पाइलटले फेवाताल किनार खपौंदी, इन अफ द लेक, वाटरफ्रन्ट रिसोर्ट अगाडिको चौरमा अवतरण गर्दछन् । साथै केही ग्लाइडर चंखपुरमा समेत अवतरण हुने गर्दछन् । पोखरामा हाल ३३८ पाइलट रहेकोमा २५० जनाले टेन्डम फ्लाइट गर्ने गरेका छन् ।

पोखरामा यो साहसिक खेलको इतिहास केलाउँदा यूरोपबाट सुरु प्याराग्लाइडिङले नेपालमा २ दशकको यात्रा पूरा गरिसकेको छ । नेपालमा प्याराग्लाइडिङ भित्राउनुको पहिलो श्रेय वंजन परिवारनलाई जान्छ । यूरोपका धेरै देशहरुबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलो पटक नुवाकोटका विरु वंजनको प्रयासमा पोखरामा सन् १९९२ देखि वंजन परिवारले भित्राएको हो । यहाँ प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटरुपमा चिनिए ।

राज्यले नपत्याएको यो खेलले २ वर्षअघि १८ औं एसियाली गेम्समा रजत पदक जितेसँगै नेपालको साख जोगाएको थियो । प्याराग्लाइडिङको विस्तारै आकर्षणले १५९२ मिटर उचाइको सराङकोट प्याराग्लाइडिङले महत्वपूर्ण स्थानको रुपमा चिनारी बोक्यो । क्रमशः प्याराग्लाइडिङ कम्पनी खुल्दै गए । हाल ५ दर्जन पुगेका हुन् ।

डोरी र ग्लाइडर सहयोगमा आकाशमै बिनाइञ्जिन स्वतन्त्र उड्ने साहसिक खेल–वास्तवमै प्याराग्लाइडिङ हो ।

फेवाताल माथिको आकाशमा ग्लाइडर ।