
काठमाडौं, २ मङ्सिर । कोभिड-१९ महामारीकाबीच सगरमाथा क्षेत्रमा पर्ने संसारकै सुन्दर तथा चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गरेका छन् । उनले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताए । पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्र, “बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ ।
सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढाैं । पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउछन् । “अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो । विदेशीले यो हिमाल आरोहण गरेका छन्”, उनले भने । शेर्पाका अनुसार शरद तथा आरोहणका लागि चर्चित वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । हालसम्म कति सङ्ख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन । वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् ।
यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गरेका थिए । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो । कोभिड –१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीको धारणा छ ।
पर्यटन विभागको पछिल्लो विववरणअनुसार शरद ऋतुको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



