
काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर केन्द्रीय बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४ दशमलव ३ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २ दशमलव १ प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको उत्पादन मात्र ५ दशमलव ७ प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे ४ प्रतिशतले बढेको छ ।
फलफूल र मसलाको उत्पादनमा भने क्रमशः ५ दशमलव २ प्रतिशत र ८ दशमलव ४ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १ दशमलव ४ प्रतिशत र मासु उत्पादन १ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव ३ प्रतिशतले घटेको छ ।
वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु नौ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ ।
घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ । विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव एक प्रतिशतले र कर्जा प्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव चार प्रतिशत र ५५ दशमलव छ प्रतिशत रहेको छ ।
निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः एक दशमलव दुई प्रतिशत र एक दशमलव दुई प्रतिशत रहेको छ । विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




