मालिकाकाे रातोढुङ्गा सबस्टेशन अलपत्र

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



म्याग्दी, ३ मङ्सिर । म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ ।

एटुजेड इञ्जीनियरिङले करिब रु आठ करोडमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन । लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए । “पोल गाड्ने र सबस्टेशनका दुईमध्ये एक भवन बनिसकेको छ । उपकरण खरिद भइसकेको छ”, उनले भने, “लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।”

सबस्टेशन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो । सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।