मौद्रिक नीति आएकै दिन नेप्सेमा उछाल,साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, घर जग्गाको कारोबार तथा बैंक, वित्तीय क्षेत्रका समस्याहरुलाई संवोधन गर्ने गरी आर्थिक वर्ष २०८०-०८१ को मौद्रिक नीति सार्वजनिक गरेकै दिन आज उछाल आएको छ ।

नेप्सेको घेरो अर्धशतक भन्दा अझैं माथि पुगेको छ । कारोबार रकम पनि सन्तोषजनक रहेको छ । नेप्सेमा आएको उछालले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेप्सेमा आएको उछालसंगै नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.९२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १४.४१ अंकले बढेर ४२४.९३ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २६६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ८१ लाख ५९ हजार ३७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धरै किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।