
काठमाडौँ, ५ भदौ । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ ।
कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सबै संयन्त्र सक्रिय रहेको बताए। हवाई उडान मुलुकको अर्थतन्त्रसँग मात्रै नभई ‘कनेक्टिभिटी’ को उपयुक्त माध्यम भएकाले यसको अल्पकालीन र दीर्घकालीन सुधारको काममा यस्ता अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सहसचिव लामिछानेले हवाई सेवा प्रदायकको क्षमता अभिवृद्धि, सहकार्यलाई थप सुदृढ बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गरे। उनले हवाई दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरणका लागि प्राविधिक पक्ष मात्र नभई व्यवस्थापकीय पाटो, दक्ष जनशक्ति र संस्थाभित्र स्वस्थ वातावरणको आवश्यकता अपरिहार्य भएको खाँचो औँल्याए।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक प्रेमनाथ ठाकुरले हवाई उडानलाई सुरक्षित र गुणस्तरीय बनाउन प्राधिकरणले नीतिगत र संरचनागत सुधारका प्रयास गरिरहेको उल्लेख गरे। उपमहानिर्देशक ठाकुरका अनुसार हवाई सुरक्षा प्रणालीको सुधार र सुरक्षित उडानलाई लक्षित गर्दै प्राधिकरणले मौसम पूर्वानुमान महाशाखासँग सहकार्य गरेर मौसम पूर्वानुमानसम्बन्धी छुुट्टै ‘अब्जरभेसन’ गरिरहेको छ ।
पर्यटकीय सिजनलाई मध्यनजर गर्दै छिट्टै लुक्ला विमानस्थलको मौसमी गतिविधिको जानकारी लिन ‘इन रुटमा’ क्यामेराजडानलगायत उपकरणको व्यवस्था गरेर उडानलाई सुरक्षित बनाउन लागिएको उनले जानकारी दिए। उनले भने, “इन रुट वेदरको वास्तविक अवस्था के छ र आगामी दुई÷तीन दिनको अवस्था कस्तो रहनेछ भनेर सम्पूर्ण इन रुट वेदरको मौसमी जानकारी लिनेगरी काम अगाडि बढाइएको छ ।
मुख्य पर्यटकीय गन्तव्यमा उडान हुने विमानस्थलमा यो प्रणाली विस्तार गर्दै लगिने योजना रहेको छ ।” यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले हवाई सेवा सुरक्षा अभिवृद्धिका लागि नियामक र अपरेटरबीचको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे।
कार्यक्रममा दुई दिन ‘ह्युमन फ्याक्टर’ र दुई दिन ‘एभिएसन सेफ्टी म्यानेजमेन्ट सिस्टम’ को बारेमा प्रशिक्षण दिइने सङ्घका महासचिव मनोज कार्कीले जानकारी दिए। स्वदेशी तथा विदेशी हवाई विज्ञहरूको प्रशिक्षण रहने कार्यक्रममा विभिन्न एयरलाइन्सका उडानसँग सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



