गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट बजारमा

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० मंसिर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट आजदेखि बजारमा आएको छ ।

गभर्नर अधिकारीको हस्ताक्षर रहेको ५ रुपैंया दरको संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीका लागि बजारमा पठाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो करिब ६० करोड रुपैंया बराबरको रकम हो ।

यो नोट साविककै आकार र डिजाइनमा बनाइएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको ‘पानीछाप’ छ । नोटको पटाडिपट्टी वन्य याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र समेत रहेको छ ।