चालु आवको २ महिनामा काठमाडाैं महानगरपालिकाद्वारा १ अर्ब १७ करोड राजस्व संकलन

-



     सफल आवाज    
     असाेज २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असोज । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ ।

गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका छन।

गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए। त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ ।

पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ । गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् ।

बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।