उद्योग वाणिज्य महासंघमा प्रदेशतर्फ को को भए विजयी ?

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघमा केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशबाट बाबुराम गिरि निर्वाचित भएका छन् । महासंघको ५४ औं साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार काठमाडौंमा भएको मतदानमा गिरिले आफ्ना प्रतिद्वन्द्वी बागलुङका निर्माण श्रेष्ठलाई मात्र ३ मतले पराजित गरेका हुन् ।

कुल १५ मतदातामध्ये विजयी गिरिले ९ मत प्राप्त गरेका थिए । महासंघको गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने व्यवस्था भएअनुरुप सत्प्रतिशत १५ मत खसेको थियो । गिरि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनी अघिल्लो चुनावमा श्रेष्ठसँगै पराजित भएका थिए ।

यसैगरी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संस्थापक संघतर्फबाट चुनाव जितेका छन् । जारी गणनामा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्र ढकाल प्यानलबाट निर्वाचित हुने उनी पहिलो उम्मेदवार हुन् । उनले चितवनका उत्तमलाल चुकेलाई २ मत अन्तरले पराजित गर्दै आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विजयी अधिकारीले ७ र चुकेले ५ मत ल्याएका छन् । प्रदेशअन्तर्गत प्रदेश २ बाट विजयकुमार साह (१२), लुम्बिनी प्रदेश जममेर मियाँ (१०), कर्णाली (लालीमान बूढा (७) र सुदूरपश्चिम प्रदेश पुष्पराज कुमार (८) मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रदेश १ बाट यसअघि नै राजेन्द्र राउत निर्वारोध भइसकेकोमा बागमती प्रदेशको गणना हुन बाँकी रहेको निर्वाचित समितिले जनाएको छ । महासंघमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फबाट केन्द्रीय सदस्यमा सन्दीप अग्रवाल पनि निर्विरोध भएका हुन् । उनीहरु दुवै ढकाल प्यानलका हुन् ।