एक महिनापछि नेप्सेमा उछाल, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० मंसिर । एक महिनापछि नेपाल स्टक एक्सचेन्जमा उछाल आएकाे छ । नेप्से परिसूचक १९०० विन्दुभन्दा माथि उक्लिएकाे छ। गएकाे कात्तिक २ गते नेप्से १९०० विन्दु माथि गएर बन्द भएको थियाे । त्यसपछि आज नेप्से १९०० विन्दुभन्दा माथि उक्लिएकाे हाे ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि अंकले बृद्धि भएर सेयर बजारमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुको मनोबल बढेको छ ।

सरकारले पनि यहि समयमा सरकारी अर्थसरोकार राख्ने निकालय तथा नियमन निकायका अधिकारीहरु र नीजि क्षेत्रसंग अर्थतन्त्र सुधारका लागि गरेको परिवेशमा नेप्सेमा देखिएको सकारात्मक लयले अब सुधारको संकेत आउन लागेको होकि भन्ने आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यसदिन ४७.७५ अंकले बढेर १९०७.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.८३ अंकले बढेर ३६४.८१ विन्दुमा पुगेको छ ।

कुल २९४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६५ लाख ३० हजार ६४३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ११ करोड ७ लाख ६३ हजार ३५८ रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य माइनस २.४७ प्रतिशतले घटेको छ ।