
काठमाडौं, २६ मङ्सिर । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए।
नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन् । यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक इन पिरियड’ भनिन्छ । बोर्डको सोमबारको निर्देशनअनुसार अब ‘लक इन पिरियड’ खुल्नु एक महिना अगावै त्यसको जानकारी दिनुपर्नेछ ।
“सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयर बिक्री गर्न नपाइने गरी तोकिएको ‘लक इन पिरियड’ समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ”, बोर्डको निर्देशनमा भनिएको छ ।
‘लक इन’सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सर्वसाधारण लगानीकर्तालाई समेत त्यसको जानकारी हुने व्यवस्था गर्न आवश्यक देखिएकाले यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ । सङ्गठित संस्थाले ‘लक इन पिरियड’ खुल्ने अवधिबारे धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिनुपर्नेछ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




