नेप्सेमा २७.७५ अंकको बृद्धि, सवा ५ अर्बको कारोबार

- कारोबारमा हिमाल दोलखा हाइड्रोपावर अब्बल

-



     सफल आवाज    
     पौष १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ पुस । केहि दिनदेखि नेप्सेको लय सकारात्मक बन्दै गएकाे छ । यसले लगानीकर्ताहरुमा सकारात्मक सन्देश संचार गराएको छ भने उनीहरुको मनोबल बढाएको छ ।

नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति तथा यहिबेलामा बैंक वित्तीय संस्थाहरुले ब्याजदर घटाएको सन्दर्भमा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको देखिन्छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार नेपाली सेयर बजारमा देखिएको सकारात्मक लय, नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा उक्लिनुले प्रष्ट भएको छ । नेप्सेमा १.३९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २९५ कम्पनीहरुको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ ५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.७७ अंकले घटेको छ ।