नेप्सेमा ५४.५४ अंककाे बृद्धि, रू ८ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     माघ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा उछाल आएको छ ।

नेप्सेमा सर्वत्र छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल बढाएको छ । कारोबार रकमको आकडालाई हेर्ने हो भने पनि यो गत वर्ष यताकै सबैभन्दा उच्च हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा चढेको छ । नेप्सेमा २.५७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.२६ अंकले बढेर ३९७.४३ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल ३०४ कम्पनीहरुको २ करोड ३२ लाख ४० हजार ४७५ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ९६ करोड ५४ लाख १२ हजार ५० रुपैयाँ ७९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८०२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ज्योती विकास बैंक बोण्ड २०८७ को सेयरमूल्य घटेको छ । सो बोण्डको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।