दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने मिर्मिरे लघुवित्त पहिलो

-



     सफल आवाज    
     माघ ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ माघ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज बुधबार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेकाे छ ।

यसरी वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरूमा मिर्मिरे लघुवित्त वित्तीय संस्था पहिलो बनेकाे छ।

संस्थाकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४१.४८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि खुद नाफामा अर परेकाे हाे । खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेको छ ।

खुद फि र कमिशन आम्दानी ११.५१ प्रतिशत घटेको छ भने कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशतले घटेको छ । संस्थाकाे सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटदा वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ६१.०६ गुणा छ । नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।

लघुवित्तकाे चुक्तापुँजी रू ६६ करोड ५७ लाख रहेकाे छ । जगेडाान रू ४२ करोड ८८ लाख रहेकाे छ। गएका ६ महिनामा निक्षेप र सापटी ०.४० प्रतिशतले घटेको छ । साथै कर्जा लगानी ३.३२ प्रतिशतले घटेको छ।