नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं साधारण सभा सम्पन्न

- व्यावसायीक हितका लागि एकताबद्ध भए लक्ष्यमा पुगिन्छ : मेयर आचार्य

-



     आरजू बिष्ट सल्यानी    
     माघ ६ गते २०८० मा प्रकाशित



पोखरा, ६ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं वार्षिक साधारण सभा विभिन्न प्रतिवेदन र कार्ययाेजना अनुमाेदन गर्दै सम्पन्न भएको छ ।

शनिबार पोखरामा आयोजना गरिएको ३० औं साधारण सभाले महासंघ कास्कीका सचिव सञ्जय आचार्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सूर्यमोहन आचार्यले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र आगामी कार्ययाेजना अनुमोदन गरेको हो ।

यसअनुसार महासंघले निर्धारण गरेका सबै कार्यक्रमहरुलाई समयमा नै सम्पन्न गर्ने, महासंघ गण्डकी प्रदेशको माघ २० गते पोखरामा हुने तेश्रो अधिवेशनको व्यवस्थापन गरिने भएको छ । महासंघ केन्द्रले जारी गरेको सर्कुलर अनुसार जिल्लाहरुले विधान बनाएर जिल्ला दर्ता गर्ने र बन्ने जिल्ला संघहरुको केन्द्रिय छाता संगठनको रुपमा नेपाल स्टेशनरी व्यवसायी महासंघ रहने भएको छ । विधान तयार भईसकेकोले अब छिट्टै दर्ता गरेर पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्की नाममा परिणत हुने भएको छ ।

हरेक वर्ष झैं वर्षेनि क्यालेण्डर प्रकाशन गर्ने, सामाजिक तथा व्यावसायीक जीवनमा काम लाग्ने सकारात्मक सोच सम्बन्धी तालिमको व्यवस्था गर्ने, बस्तुगत संघहरुसंग सहकार्य गरेर पोखरा उद्योग वाणिज्य संघकाे अधिवेशनमा महासंघ कास्कीको प्रतिनिधित्वको लागि पहल गरिने योजना रहेको छ ।

स्टेशनरी सामग्रीको खरिदबिक्री प्रक्रियामा देखिएका समस्याहरुको समाधानका लागि प्रदेश तथा केन्द्रसंग समन्वय गरेर उत्पादक, आयातकर्ताहरुसंग बसेर समाधानको पहल गरिने भएको छ । यस्तै आन्तरिक पर्यटन प्रवर्धन तथा अवलोकन अध्ययन भ्रमणलाई निरन्तरता दिईने भएको छ । व्यवसायीको लागि सलिको इन्स्योरेन्सबाट रु १ लाख सम्मको दुर्घटना बीमा, यूआरएलमा रक्त परिक्षण गर्दा ३० प्रतिशत तथा प्रभु इन्स्योरेन्समा इन्स्योरेन्स गर्दा १० प्रतिशतको छुटको सुविधालाई निरन्तरता दिईने भएको छ ।

व्यवसायी मैत्री कार्यक्रमहरु लागू गरिने चाडपर्व विशेष कार्यक्रमहरुकाे निरन्तरता, तिहारमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने, व्यवसाय प्रवर्धन र हकअधिकारका कामहरुमा सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

व्यावसायीक संस्थामा राजनीतिको फेरो समातेर बैतर्नि तर्न सकिदैन : मेयर आचार्य

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले १४ वर्ष वर्षपछि कास्कीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय नेतृत्वको लागि अग्रसर भएकोमा लक्ष्य प्राप्तिका लागि शुभकामना व्यक्त गरे ।

कास्कीको यो पटकको कार्यसमिति गजबको रहेछ, युवाले स्थान पाएका र उत्कृष्ट काम गरेका तथा उनीहरुले अग्रजलाई सम्मान व्यक्त गर्ने र सिको गरेको कामबाट आफुलाई खुसि लागेको बताए । मैले पनि महासंघका बसेर दौडधुप गरेको छु ।त्यसैले भन्ने गरेकाे छु, यसलाई राजनीतिले बिगार्न हुँदैन र राजनीतिको फेरो समातेर बैतर्नि तर्न पनि सकिदैन।

आचार्यले भने, म महासंघको अध्यक्ष भएको १४ वर्ष भईसकेछ । त्यसपछि कास्कीबाट केन्द्रिय नेतृत्वमा नपुगेको त्यो रिक्ततालाई यसपटक देशैभरीमा उत्कृष्ट रहेको कास्कीले चयन गरेका उम्मेदवारहरु यहाँहरुकै पहलकदमीले जितकाे नतिजा निकाल्न संभव हुने बताए ।

उनले सामाजिक तथा व्यावसायीक संस्थाहरुमा संस्थागत तथा व्यमवसायीक उत्थान बाहेकका उदेश्यहरु बोकेर हिंडे लक्ष्य भेटाउन गाह्रो हुने बताए । उनले बिचारभन्दा पनि व्यावसायीक हितलाई सोच्न र त्यो लक्ष्य पूरा गर्न मन पनि एउटै, मत पनि एउटै र कर्म पनि एउटै बनाउन सुझाए ।

मेयर आचार्यले झण्डै १०० वर्षको अगाडी अग्रजले पोखरामा व्यवसाय, शिक्षा क्षेत्रका लागि बनाएको बाटोमा हिड्न पाउनु चानचुने कुरा नभएको र उ बेलाको शैक्षिक तथा व्यावसायीक उन्नयनको सोचलाई समयअनुसार आत्मसाथ गर्दै, अग्रजलाई सम्मान गर्दै अहिलेको पुस्ता र भविष्यको पुस्ताका लागि पनि सोचेर काम गर्नुपर्ने बताए ।

हामी सबै एकै ठाउँमा अटाउन सकौं, समस्याका बारेमा सरकारसंग लविङ गर्ने ठाउँमा दरो भएर उपस्थित हुन सकौं, मेयर आचार्यले भने, यो व्यावसायीक तथा सेवामूलक व्यवसाय हो । ७५ प्रतिशत विजनेश अर्गनाईजेशन हो र २५ प्रतिशत सामाजिक उत्तरुदायीत्व बहन गर्नुपर्छ ।

सो अवसरमा व्यवसायीको तर्फबाट भेषराज पौडेल, जिल्लाहरुको तर्फबाट स्याङजा अध्यक्ष छाँयादेवी लुईटेल, कस्मेटिक व्यवसायी संघको तर्फबाट अध्यक्ष दुर्गा वराल, गण्डकी अध्यक्ष लीलाराम गौतम, यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, अर्जुप्रसाद पाण्डे, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पोखरेल, गण्डकीका निवर्तमान अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कि, सल्लाहकार देवकृष्ण काफ्ले, केन्द्रिय सचिव शकुन्तलादेवी शर्मा, पत्रकार आरजू विष्ट सल्यानीले महासंघ कास्कीले गरेका कामहरुको प्रशंसा गरेका थिए ।

उनीहरुले उदेश्य प्राप्तिका लागि बिचारलाई पर राखेर व्यवसायीक मुद्धाहरुमा केन्द्रित भई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए । उनीहरुले अहिलेको जमानामा काम गर्ने शैली पनि फेरिएको र समयअनुसारको काम गर्न सक्ने युवा सम्मिलित समिति बनेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा महासंघ गण्डकी प्रदेश सचिव तथा माघ २० गते पोखरामा हुने महासंघको अधिवेशनमा अध्यक्ष पदका प्रत्यासि कृष्ण प्रसाद पोखरेल, फागुन १८ र १९ गते काठमाडौंमा हुने केन्द्रिय अधिवेशनमा अध्यक्षका प्रत्यासि ऋषिशर्मा भण्डारी र सचिवका उम्मेदवार मोहनप्रसाद सापकोटाले महासंघलाई हाँक्न सक्ने सक्षम नेतृत्वको चाहना कास्कीले गरेकोले कास्की शाखालाई आभार व्यक्त गर्दै नतिजा आफ्नो पक्षमा पार्न गरिएकाे पहल हामीले सार्थक बनाउनु पर्ने बताए ।

उत्कृष्ट काम गरेकाहरुलाई सम्मान

कार्यक्रममा विभिन्न कार्यक्रमको संयोजक भएर उत्कृष्ट काम गरेकाहरुलाई सम्मान गरिएको सहसचिव रामप्रसाद सुवेदीले बताए । सम्मानित हुनेहरुमा भुवन अधिकारी, प्रकाशप्रसाद पोखरेल, दीपेन्द्र पोखरेल, गीता अधिकारी, टीकाराम पौडेल रहेका छन् । यस्तै स्वास्थ्य सेवामा सहकार्य गरेका यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त तथा प्रिन्टिङ पार्टनर जिएस प्रिन्ट एण्ड सप्लायर्सलाई सम्मान पत्र र माला लगाई मेयर आचार्यले सम्मान गरेका थिए ।

यसअघि महासंघ कास्कीका दितिय उपाध्यक्ष ध्रुव पोखरेलले कार्यक्रममा सहभागिलाई स्वागत गरेका थिए। गुरुकुल विद्याश्रमका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सचिव सञ्जय आचार्यले संचालन गरेकाे कार्यक्रमको अध्यक्षता कास्की अध्यक्ष कविन्द्रप्रसाद पोखरेलले गरेका थिए ।