मोरङमा प्रअको अपहरणपछि गोली हानी हत्या

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि गोली हानी हत्या गरिएको छ ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहले मिक्लाजुङ गाउँपालिका वडा १ बर्खेका ५४ वर्षीय शिक्षक श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरेको हो ।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाए ।

बिहान करिब ६ बजेतिर ५ जनाको संख्यामा आएका विप्लवका कार्यकर्ताले शिक्षक श्रेष्ठलाई घरबाट उठाएर करिब ३० मिनेट टाढा जंगलमा लगी गोली हानी हत्या गरेको जानकारी खड्काले दिए ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए । उनको टाउकोमा गोली लागेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।