अरुण भ्याली हाइड्रोपावरकाे हकप्रद सेयरकाे बिक्री खुल्ला

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि हकप्रद सेयरकाे बिक्री खुल्ला गरेकाे छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयरकाे बिक्री खुल्ला गरिएकाे हाे ।

कम्पनीले रूपैयाँ १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० सय बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रदकाे बिक्री खुलाएकाे हाे ।

कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयाेजनका लागि माघ १५ गते बुकक्लोज गरिसकेकाे छ । हकप्रद सेयर खरिदका लागि सेयरधनीहरूले माघ १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै हकप्रदका लागि आवेदन दिन पाउनेछन् । यसका लागि चैत ७ गतेसम्म मिति ताेकिएकाे छ।

हकप्रदमा लगानीका गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

यस्तै सेबाेनबाट अनुमति पाएका सिआस्वा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ। हकप्रद सेयर जारी भएपछि याे रूपैयाँ ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० पुग्ने भएकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।