
चितवन, २७ फागुन । नेपाल औषधि व्यवसायी सङ्घले आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले बजार चलायमान बनाएको छ ।
स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो । सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताए ।
उनका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् । सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण दुई हजार हाराहारी होटलका कोठा बुक भएका छन् ।
होटलमा मात्रै तीन हजारभन्दा बढीले रु छ करोड हाराहारी खर्च गर्ने उनको भनाइ छ । उनले भने, “एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ ।” एक्स्पो सम्पन्न गर्न रु तीन करोड हाराहारी खर्च हुने बरालको अनुमान छ ।
यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि रु दुई करोड हाराहारी खर्च गरेको उनको अनुमान छ । सङ्घका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताउछन्। उनले भने, “एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो ।”
यहाँ आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाइ छ । यही फागुन २५ गतेदेखि सञ्चालन भइ आज समापन हुने एक्स्पोमा एक सय ६० वटा स्टल राखिएका छन् ।
नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




