कोरोनाकैबीच लगानीको आकर्षणः बैंकको कर्जा लगानी ३१ खर्ब नाघ्यो

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । कोरोना महामारीको त्रास अझै नेपालमा हटेको छैन । कोरोनाका कारण लामो समय व्यापार व्यवसाय बन्द रहे पनि अब भने लगानीकर्ताहरुले लगानी गर्न शुरु गरेका छन् । कर्जा लगानीमा देखिएको बढोत्तरीका कारण पनि पछिल्लो समय व्यापार व्यवसायमा लगानी बढेको पुष्टि हुन्छ ।

पछिल्लो ३ महिनामा नै ‘क’ वर्गका बैंकहरुले मात्रै करिब २ खर्ब रुपैयाँले कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असोज यतामात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । गत भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जा लगानी २९ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यो बढेर २६ मंसिरसम्म ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

११ चैतमा देशभर लकडाउन भए पनि बैंकिङ कारोबार खुला नै रहेको थियो । तर बैंकमा कर्जाको माग भने अत्यन्तै कम मात्रै आएको थियो । लामो समय हुन नसकेको कर्जा लगानी भदौं पछि भने निकै बढेको संघले जनाएको छ ।

भदौंमा २९ खर्ब ४ अर्ब रहेको बैंकहरुको कर्जा लगानी असोज अन्तिम सातासम्म आइपुग्दा ३० अर्ब ३५ अर्ब पुगेको थियो । त्यसपछि पनि कर्जा लगानी बढ्ने क्रम रोकिएन ।