सगरमाथा नयाँ उचाइले अग्लिएको सान

- आरोहण आफैमा चुनौती हो, चुचुरोमा पुगेर काम गर्नु महाचुनौती: इञ्जिनियर खिमलाल गौतम

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइले विश्वभर नयाँ तरंग सिर्जना भएको छ । नेपालीको सान अझै अग्लिएको छ । यो महान कार्य सफल पार्न जीवन नै धरापमा पारेर आरोहणसहित सगरमाथाको सही मापन गर्ने आरोहण दलका टोली नेता हुन्–इञ्जिनियर खिमलाल गौतम (३७) ।

नापी विभागअन्तर्गत कास्की जिल्लामा कार्यरत प्रमुख नापी अधिकृत इञ्जिनियर गौतमको जन्म कास्कीकै माछापुच्छे गाउँपालिकामा भएको हो । उनी भीमप्रसाद गौतम र आमा प्रेमकुमारी गौतमका कान्छा सुपुत्रका रुपमा विक्रम सम्बत् २०४१ सालमा जन्मिएका हुन् । परिवारमा उनका दाइ र ५ दिदीबहिनी छन् । ६ फिट अग्ला खिमलाल हेर्दै फूर्तिफार्ती देखिन्छन् । उनी शारीरिकरुपमा समेत बलिया लाग्छन् ।

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम हुनुमा सुरुवातदेखि अन्त्यसम्म आफ्नो काममा दिनरात नभनी खटिएका इञ्जिनियर गौतमको यो दोस्रो आरोहण थियो । यसअघि पनि उनीसँग १० वर्षअघि २०६८ सालमै आरोहणको अनुभव थियो । उनै गौतम हुन्, शिखर चुम्ने पहिलो निजामती कर्मचारी । हाल उच्च पद उपसचिव उनीसँग निजामतीमा अहिलेसम्मकै उच्च पदमा रहेका कर्मचारीबाट सगरमाथाको सफल आरोहणको रेकर्ड छँदैछ ।

चुचुरोमा आरोहण टोली ।

नापी विभागलाई सगरमाथा मापनको जिम्मा र सोही विभागमा कार्यरत कर्मचारी गौतम आरोही पनि भएकोले उनी मापनको लागि आरोहण टोलीको नेतृत्वमा छानिएका हुन् ।

२०६१ सालमा अमिन (खरिदार तह ) पदबाट निजामतीमा प्रवेश गरेका उनी बढुवा नभैकन खुला प्रतिष्पर्धाबाटै उपसचिव पदमा पुगिसकेका छन् । कास्कीमा कार्यरत हुनुअघि उनले निजामती सेवाअन्तर्गत तनहुँ, गोरखा र मुस्ताङ जिल्लामा सेवा गरिसकेको बताउँछन् ।

नेपाल सरकार र चिनियाँ सरकारको संयुक्त आयोजनामा गत मंसिर २३ गते सगरमाथाको नयाँ उचाइ पहिलेको तुलनामा ८६ सेन्टिमिटर अग्लिएको सगौरव घोषणा गरिएको थियो । त्यसपछि उनै गौतम राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा झनै छाए ।

काठमाडौंमा निजामती कर्मचारी संघ, नेपालले उनीसहित आरोहण दलका सदस्यलाई सम्मान गरेको छ । नेपाल सरकारले आफ्नै स्रोतसाधनमा प्रटम पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको नाप गर्नेक्रममा माउन्ट सगरमाथा हाइट एक्सपिडिसन–२०१९ आरोहण अभियानको टोली नेता भई पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

आरोहणका क्रममा ।

सगरमाथाको आरोहण आफैमा चुनौती हो । त्यसमाथि पनि त्यहाँ गएर काम गर्नु जस्तो कठिन परीक्षा सफलतापूर्वक पूरा गरी जताततै हाइहाई बनेका उनै गौतमले सफल आवाजसँगको कुराकानीमा आरोहण गर्दाका दुःख, त्यसले दिएको खुसी दुवै अनुभव बाँडेका छन् ।

मेरा लागि २०७७ मंसिर २३ युगान्तकारी दिन हो । सगरमाथाको उचाइ बढेको मात्र नभई विश्वमा नेपालको पहिचान बढेको महसुस भएको छ । यसअघिका सम्पूर्ण रेकर्ड तोड्दै सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी रहेको रेकर्ड कायम भएको हो । जसबाट सगरमाथाको उचाइबारे यसअघि आएका विभिन्न विवाद स्वतः हटेका छन् ।

खिमलालसहित आरोहण टोलीको सम्मानपछि सामूहिक तस्वीरमा ।

उनको नेतृत्वको आरोही टोली अत्याधुनिक प्रविधिमार्फत गत जेठ ८ मा आरोहणसहित उचाइ मापन गरेको थियो । टोलीमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली संलग्न थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए।

‘मैले सबैभन्दा ठूलो चुनौतीपूर्ण काम गर्ने अवसर पाएँ । शिखरमा २ घण्टासम्म टिकेको अनुभव छ,’ उनले भने, ‘जसको फलस्वरुप नेपालले आफैले इतिहास निर्माण गरेको छ । यो सगरमाथाको राज्याभिषेक समारोह हो । राज्यले अपनत्व गरेको विषय हो । यसको अन्तर्राष्ट्रिय महत्व बेग्लै छ । सामरिक महत्व पनि छ ।’

आधुनिक प्रविधिमार्फत मापनका लागि कच्चा तथ्याङ्क संकलन गर्न जोखिम उठाइएको उनले बताए । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा २०६८ साल जेठ ४ मा सफल आरोहण गरेका गौतम १५ जनामध्ये पहिलो पटक शिखर पुगेका थिए । त्यसबेला ९ जनामात्र चुचुरोमा पुगेर फर्केका हुन् ।

यसपालि २०७६ जेठ ४ गते बुद्ध पूर्णिमाको दिन आधार शिविरबाट प्रस्थान गरी ८ गते चुचुरोमा पुगेर टोली आवश्यक काम गरी फर्किएको थियोे । त्यसबेला ३ दिनसम्म त टोलीले आरोहणक्रममा डेथ जोनमा बिताएको थियो । अक्सिजन सकिँदा निकै समस्या परेको र अरुसँग सापटी मागेर जीवनमृत्युको दोसाँधबाट फर्किएको उनले सफल आवाजलाई बताए ।

नेपाल चिनाउने सगरमाथाको महत्व स्थापना गर्न नेपालले आफ्नै कर्मचारी पठायो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले बिदाइ गर्नुभएको थियो । जिम्मेवारीको माला गह्रौ थियो । त्यसले जस्तोसुकै चुनौती सामना गर्‍याै । सफल पनि भयौ । र, नेपाललाई अझै अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्‍यौं ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा भूमि तथा सहकारी मन्त्री पद्मा अर्यालले आरोहणका क्रममा बिदाइ गर्दा ।

आरोहणक्रममा वायुमण्डलमा अक्सिजनको मात्रा निकै घट्ने अवस्थामा शारीरिक एवं मानसिक रूपमा लखतरान भएर चुचुरोमा पुग्ने काम हरेक आरोहीका लागि ठूलो सफलता हो । भारी झोलाका साथ त्यहाँ लगिएको यन्त्रका सहायताले भूउपग्रहीय विवरण लिएको उनले बताए ।

चुचुरोमा धेरै समय त्यहाँ बिताउँदा उनको खुट्टाको एउटा औला नै हिउँले खाएको थियो । त्यहाँ उनीहरूले लगेको जिपिएस यन्त्र र तल जमिनमा राखिएका ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएनएस) ले एकैसाथ आफ्नो अवस्थितिबारे भूउपग्रहको सञ्जालका सहायताले विवरणहरू संकलन गरेका हुन् । जीपीएसको सहायताले एक सेन्टिमिटर वा अझै कम तलमाथि पर्ने गरी पृथ्वीको केन्द्रभाग सम्मको दूरी नाप्न सकिन्छ । सगरमाथाको मुनि रहेको समुद्री सतह नाप्ने काम भने निकै कठिन हो । नेपालले करिब २ वर्ष लगाएर उचाइ मापन गरेको हो । सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८८४८ मिटर भएको निष्कर्ष निकालेको थियो ।

जाँदाजाँदै गौतमले रहस्य खोले, ‘मेरो आरोहण अनुभवसहित थप विवरण पुस्तकमा आउँदैछ । लेख्दैछु केही समय धैर्य गर्नुहोला ।’

सम्मानित गौतम।