शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ पुस । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पु¥याउनुभएको योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ ।

विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रकारुपमा जन्मनुभएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएका थिए । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ । त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चीजबीजको सहज आपूर्ति थिएन ।

किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाए । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो । त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवन यापनमा सजिलो भयो । षडानन्दले बगँैचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाए । त्यसक्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उहाँले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गरे । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ जसले अर्थोपार्जनमा सहयोग गरेको छ ।

१५० वर्षअघिदेखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुख्र्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउछन । षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याएका थिए । उनकाे सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ ।

नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सारेका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउछन । अष्ट्रेलियन वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकाेमा उनको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ ।

षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताइन्छ । षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गरे । गुठी अन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उनका विषयमा अन्वेषण गरिरहेका यादव चापागाईँ बताउछन ।

गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ । षडानन्द नगरपालिकाले पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पुनःनिर्माण गर्न लागेको छ । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको राससले लेखेकाे छ ।