सातामै ३० अर्बको शेयर कारोबार, नेप्से परिसूचक पनि उकालो

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ पुस । एक सातामै ३० अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार यो साता ३० अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गत साता २८ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता त्योभन्दा १ अर्ब ५९ करोड रुपैयाँ बढी अर्थात ३० अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब १ अर्ब रुपैयाँ बढेर २७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ११.१९ प्रतिशत बढेको छ।

कारोबार रकममात्रै होइन नेप्से परिसूचकमा पनि उल्लेख्य सुधार भएको छ । यस साता ९१.४३ अंक घटेर १९६४.०२ विन्दुमा झरेको नेप्से, यस साता ६८.४९ अंक बढेर २०३१.५१ विन्दुमा पुगेको छ। त्यसैगरी, गत साता ३७४।०२ विन्दुमा रहेको सेन्सेटिभ इण्डेक्स यस साता ११.९२ अंक बढेर ३८५.९४ विन्दुमा पुगेको छ।