सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

-



     सफल आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित



बारा, ३० असार । कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छन्।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन्। जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौँ जाँदै थिइन् तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता भइन्।

योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ । सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए।

दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनले भने, “छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।”

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । “छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्”, उनको भनाइ छ ।