नयाँ प्रधानमन्त्री नियुक्त हुने दिनमै नेप्सेमा छायो हरियाली, साढे ७ अर्बको कारोबार

-



     सफल आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० असार । देशमा नयाँ प्रधानमन्त्री चयन हुने दिनमै साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कुल काराेबार रकम पनि बितेका छ महिनाकै उच्च भएकाे छ।

नयाँ सरकारको नयाँ प्रधानमन्त्रीको चयन हुने दिनमै लगानीकरताहरुले मनाेबैज्ञानिक रुपमा स्वागत गरेकाे हरियाली दृश्यले सकरात्मक उर्जा थपेकाे छ ।

अर्को कुरा नयाँ गठबन्धनको सरकारका अर्थमन्त्रीमा विष्णु पौडेलको अनौपचारिक चर्चा हुन थालेपछि अर्थ बजारले रुचाएका पौडेल अर्थमन्त्रालय सम्हाल्न आउने अपेक्षामा पनि लगानीकर्ता रहेका छन् । यसका साथै लगानीकर्ताहरु बजार उकालोको यात्रामा स्थि रहने आशामा पनि रहेका छन् ।

नेपाल स्टा एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज अर्धदशक पार गरेको छ । नेप्सेमा ५२.९७ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २२५७.५९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४० प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.५९ अंकले बढेर ४०१.२५ विन्दुमा रहेको छ ।

लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३०९ कम्पनीहरुको २ करोड २० लाख ४७ हजार ३२७ कित्त सेयरको खरिदबिक्रीबाट ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँ ८७ पैसा बराबरको कारोबार भइएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २४ करोड २७ लाख ५ड हजार ५७२ रुपैयाँ ५० पैसा बराबरको करोबार भएको छ ।

सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै १०.१५ प्रतिशत प्राईम डिबेन्चर २०८४ को सेयरमूल्य घटेको छ । सो डिबेन्चरको सेयरमूल्य ४.१२ प्रतिशतले घटेको छ ।