आँखुखोला जलविद्युतले १ अर्ब २० करोडको हकप्रद सेयर निष्काशन गर्दै

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ साउन । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले यही साउन २७ गतेदेखि हकप्रद सेयरकाे बिक्री खुला गर्ने जानकारी गराएकाे हाे । यसअनुसार कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद खुलाउनेछ।

कम्पनीले १० कित्ता बराबर नयाँ १५ कित्ताकाे रेसियाेमा हकप्रद जारि गर्ने भएकाे हाे । रूपैयाँ १ अर्ब २० करोड बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद जारी गरिनेछ ।

हकप्रद सेयर खुलाउनका लागि साउन १ गते बुकक्लोज भइसकेकाे छ । लगानीकर्ताले असार ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेर काउम भएकाे हुनु पर्नेछ । यसरी काय भएका सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन्। यसका लागि भदौ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयर भर्नका लागि बिक्री प्रबन्धक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ । साथै सेबाेनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।

कम्पनीको चुक्ता पूँजी रूपैयाँ ८० करोड रहेको छ। हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी रूपैयाँ २ अर्ब पुग्नेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।