राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परिक्षाफल प्रकाशित

-



     सफल आवाज    
     श्रावण १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल अाज प्रकाशित गरेको छ। साे नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो । २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए।

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो । २०८० सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा त्यही निर्देशिका अनुसार सार्वजनिक भएको थियो ।