
वीरगञ्ज (पर्सा), ४ भदौ । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।
साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो ।
भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन्,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’’
भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई रु १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो ।
चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै रु ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो ।
आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ ।
चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ । गत आव २०८०/८१ को साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।
गत आवको तुलनामा चालु आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




