प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सांसदहरुकाे प्रश्नको जवाफ दिने

-



     सफल आवाज    
     भाद्र ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने र बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका विविध प्रश्नहरुको जवाफ दिने तालिका हरेकाे जारी सूचनामा जनाइएकाे छ । 

प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने  कार्यसूची रहेको छ । 

यस्तै सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, डा तोसिमा कार्कीले “हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्ने सूची रहेकाे छ।

“धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधयेक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने भएकाे छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने सूची रहेकाे प्रतिनिधि सभाको सचिव सुरेश अधिकारीले सूचनामा उल्लेख गरेका छन् ।