
सर्लाही, ८ पुस । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले दशैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो । जिल्लामा तीन चिनी उद्योग रहे पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले बताए । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । यी दुवै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन, चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ । दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नातर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको जिकिर गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन सिफारिस गरिसकेको छ । यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम हुनुपर्ने माग राखेका छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



