१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बाेलकबाेल

-



     सफल आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ भदाै । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बोलकबोलबाट १० अर्ब आन्तरिक ऋण उठाउदै छ । कार्यालयले ३ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८४ को बोलकबोलबाट साे आन्तरिक ऋण उठाउने भएकाे हाे ।

कायर्यालयका अनुसार विकास ऋणपत्र २०८४ को आज भदौ १२ गते बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म बोलकबोल हुने भएकाे छ । याे भदौ १३ गते भाेलि निष्कासन हुनेछ ।

सरकारले विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्ने जनाएकाे छ । साथै ऋणपत्र धितो राखेर कर्जाकाे सुविधा पनि लिन पाइनेछ ।

यसकाे विसं २०८४ भदौ १२ गते साँवा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुने भएकाे छ । आर्जित ब्याजमा भने ब्याजकर लाग्ने भएकाे छ ।

प्रतिस्पर्धी बोलकबाेल गर्नेहरूका लागि ८५ र अप्रतिस्पर्धी बोलकबाेल गर्नेहरूका लागि १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।

कार्यालयले जनाए अनुसार न्यूनतम रूपैयाँ ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ रूपैयाँ ५ लाखले भाग गर्दा निशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । यसकाे दाेश्राे बजारकाे काराेबार नेपाल स्टक एक्सचेञ्जबाट हुने भएकाे छ ।