एनएमबि लघुवित्तको कर्मचारी क्षमता अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण तालिम शुरु

-



     सफल आवाज    
     भाद्र २६ गते २०८१ मा प्रकाशित




काठमाडाैं, २६ भदाै। एनएमबि लघुवित्त वित्तीय संस्थाको २ दिने कर्मचारी क्षमता अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण तालिम पाेखरामा शुरु भएकाे छ । वित्तीय संस्थाले ७ वटै प्रादेशिक कार्यालय अन्तर्गतका विभिन्न १ सय २७ वटा शाखाका शाखा प्रमुखहरुलाई लक्षित गरि दोस्रो चरणको २ दिने (२०८१ भाद्र २६ गते देखि २७ गतेसम्म) तालिम होटल सरोवर र म्याजेष्टिक लेकफ्रन्ट होटल लेकसाईड पोखरामा प्रारम्भ गरेकाे हाे ।

यसअघि पहिलाे चरणमा २०८१ भाद्र ११ देखि १३ गतेसम्म संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे , नायव प्रमुख कार्यकारी अधिकृत बिरूराम जैशी र सवै विभागिय प्रमुखको सहभागितामा ७ वटै प्रदेशका रिलेसनशिप मेनेजर, ७ वटै प्रादेशिक कार्यालय अन्तरगत प्रादेशिक प्रमुख, क्षेत्रिय प्रवन्धक र २१ वटा शाखाका शाखा प्रवन्धकलाई लक्षित गरेर होटल सरोवर लेकसाईडमा कर्मचारी क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको थियो ।

यसअघि आयोजित तालिममा बाह्य स्रोतवाट आमन्त्रित प्रशिक्षक पुष्पराज भण्डारीले कर्जा जोखिम ब्यवस्थापन र रमेश प्रसाद जोशीले भावनात्मक वौदिकता विषयमा तालिम दिएका थिए भने आज र भोलिको तालिममा पनि उनिहरु सहित वित्तिय संस्थाका विभागिय प्रमुख एंव सम्पत्ति शुद्धीकरण समितिको कार्यान्वयन अधिकृत भुवनेश्वर फुलाराले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृर्याकलापमा वित्तीय लगानी निवारण र विभागिय प्रमुख एंव कम्पनी सचिव सुर्य बहादुर थापाले मानब संसाधन विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएकाे छ ।

प्रशिक्षणको अन्तिम सत्रमा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतले ब्यवसायिक रणनीति, व्यवसायिक सम्वन्ध, व्यवहार र उत्प्रेरणा लगायत विषयवस्तुमा मार्गनिर्देशन सहित तालिममा सहभागी सवैलाई प्रमाणपत्र वितरण गरि समापन गर्ने कार्यक्रम रहेको छ ।

वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड, कास्कीमा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापना गरी ६७ जिल्लामा १ सय ४८ वटा शाखा विस्तार गरी करिब १ लाख २० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ।