विश्व लगानीकर्ता सप्ताह सुरु, पूँजी बजारबारे सचेतना जगाउदै सेबाेन

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्व लगानीकर्ता सप्ताह मनाउन सुरु गरेको छ । बोर्डले नीजि क्षेत्रका संघ, संस्थाहरुसंग सहकार्य गरेर सप्ताह मनाउन सुरु गरेको हो ।

नेपाल विश्व नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था (आईओएससीओ) काे एशोसिएट सदस्य राष्ट्र हो । बोर्डका अनुसार आजबाट सुरु भएको विश्व लगानीकर्ता सप्ताह कात्तिक १२ गतेसम्म मनाईने छ ।

लगानीकर्ता सप्ताहमा सेयर लगानीकर्ताहरुलाई यसका बारेमा जागरुक बनाउने, सचेतना अभिबृद्धि गर्ने, सेयर शिक्षा तथा सेयर बजारका विविध पक्षहरुका बारेमा जानकारी दिईदैछ ।

सप्ताहभरको कार्यक्रमबाट लगानीकर्ताहरुको निर्णय क्षमतामा अभिबृद्धि गर्नु र हुनसक्ने जोखिमबाट जोगिनका लागि सचेतना फलदायी हुने विश्वास गरिएको छ ।

आईओएससीओले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउदै आएको छ । नेपाल बितेका ४ वर्षदेखि सप्ताह मनाउन लागिएको हो ।

नेपालको पुँजी बजारमा २०८१ साल भदौ मसान्तसम्ममा ६३ लाख ८१ हजार ९२३ लगानीकर्ताहरु डिम्याट प्रयोग कर्ता रहेका छन् । दोश्रो बजारमा लागि २१ लाख ९४ हजार ६०२ टिएमएस प्रयोगकर्ताहरु रहेका छन् ।

यसै सन्दर्भमा मंगलबार पोखरामा पोखरा उद्योग वाणिज्य संघसंगको सहकार्यमा बोर्डले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागि व्यवसायी तथा पोउवाका पदाधिकारीहरुलाई संघका अध्यक्ष गोकर्ण कार्किले स्वागत गर्दै पुँजी बजारसम्बन्धी यस कार्यक्रमले लगानीकर्ताहरुलाई फाइदा पुग्ने र जोखिमबाट जोगिन फलदायी भएको बताए ।

कार्यक्रममा नेप्सेका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले सेयर बजारका विविध पक्ष तथा नेप्सेको संगठनात्मक कार्यहरुको बारेमा जानकारी दिएका थिए । सो अवसरमा बोर्डकी निर्देशक रन्जना थकुल्लोट र प्रवक्ता मुरारी पराजुलीले धितोपत्र बजारका विविध पक्षहरुको बारेमा प्रस्तुति प्रस्तुत गरेका थिए ।