आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

-



     सफल आवाज    
     मंसिर ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ मङ्सिर । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।

सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।

सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गरेको आइएफआरसीले जनाएको छ ।

आइएफआरसीको सर्वाेच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन्। रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व प्रदान गर्दै आएका छन् ।

यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत छन्। विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले निर्वाह गरेकाे भूमिका ऐतिहासिक रहेको बताइएको छ ।

आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् । आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गरे ।

आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताए। सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गरेका थिए ।