सबै अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र, नगरे कारबाही गर्ने चेतावनी

-



     सफल आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित




काठमाडौं, ६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले प्रबाह गर्ने सेवाकाे शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

अस्पतालहरूले तोकिएको भन्दा बढी शुल्क लिएको भन्ने गुनासो पटक पटक सुनिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्न निर्देशन दिएका हुन ।

मन्त्री पौडेलले चासो लिएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको हो ।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क अनिवार्य खुलाउन भनिएको छ । यसैगरी सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।

यसैगरी टिकट सहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।
‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा अनुगमन गरिनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।