
काठमाडौँ, १५ मङ्सिर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन् “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ ।
हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।” एक प्रश्नको जवाफमा मन्त्री डा राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन ।
उनले भनिन “यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली काँग्रेसले औपचारिक निर्णय गरिसकेको छ । यो सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अवगत छ ।
अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरु गरिरहेका छौँ ।” नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं सम्बन्ध रहेको र यो मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उनले आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता हो भनिन् ।
आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको राणाले जानकारी दिइन ।
दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनले बताइन । चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक– सामाजिक साझेदारी वृद्धिमा जोड दिएको बताइन ।
चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको परराष्ट्रमन्त्रीले जानकारी दिइन । साथै उनले द्विपक्षीय सम्झौता तथा समझदारीहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको बताइन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




