लक्ष्मी सनराइज क्यापिटलको १४औं वार्षिक साधारण सभाबाट ७.७२ करोड नगद लाभांश पारित

-



     सफल आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ मंसिर । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा आज आइतवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ।
आ.व. २०८० -०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोवारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी रु.४८,८९,००,००० कायम भएको थियाे ।

साधारण सभामा प्रस्तुत भएका आ.व. २०८०-०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरिएकाे थियाे ।

आ.व. २०८१-०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने, मर्जर पश्चात आ.व. २०८०÷०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु.७,७१,९४,७३६.८० (१५% कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएकाे छ।

तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरिसकेकाे छ ।

हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ । करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।

कम्पनीले करिब ७ अर्व बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा मिति २०८१-०२-२८ मा १ अर्व २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई रु ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको बताएकाे छ। वाँकी ५ वटा योजनाले आ.व. २०८०-०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत सम्म प्रतिफल वितरण गरेको जनाइएकाे छ ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरुबाट करिब रु.४० करोड संकलन गरिसकेको र बाँकी रकम चालु आ.व. मा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।