
लिस्बन (पोर्चुगल), ८ पुस । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् ।
फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ । घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ ।
शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिए ।
शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले बताए । राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।
“दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौँ”, राजदूत भट्टराईले भने, “यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा चारपटक घुम्ती शिविर सञ्चालन गर्यौ । पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौँ ।” आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए ।
दस दिनसम्म सञ्चालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियो। घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए ।
टोलीले डिसेम्बर १२ देखि २१ तारिखसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले समन्वय र सहजीकरण गरेका थिए । घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




