समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

-



     सफल आवाज    
     पौष ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ पुस । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएकाे छ । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले बिहीबार पुस ११ गतेदेखि बैंकको शेयर कारोबार रोक्का गरेको जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले बुधबार साे बैंकलाई समस्याग्रस्त घोषणा गरेको र अर्को व्यवस्था नभएसम्मका लागि बैंकको व्यवस्थापन आफ्नाे नियन्त्रणमा लिएको जनाएकाे थियाे ।

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसेकाेले समस्याग्रस्त घोषणा गरिएको हाे ।

राष्ट्र बैंकले वित्तीय अपचलनको जानकारी पनि पाएकाे आधारमा साे बैंकलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिए निक्षेप सुरक्षित नहुने, बैंकिङ प्रणालीप्रति अविश्वासकाे वातावरण सिर्जना हुने भएकाेले सर्वसाधारणको हितका लागि समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिइएको जाएकाे छ । 

कर्णाली विकास बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणहरूले साे बैंककाे वित्तीय अवस्था समस्याग्रस्त देखिएकाेले मंसिर ११ देखि लागू हुनेगरी शीघ्र सुधारात्मक कारवाही शुरू गरिएको थियो ।

बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह गठन गरिएको राष्ट्र बैंकले जनाएकाे छ । साे समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य राखिएकाे छ । समूहले पुस ११ देखि तोकिएको जिम्मेवारी सम्हालेकाे बताइएकाे छ ।

व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षण गर्नुपर्ने, बचतकर्ताको बचत भुक्तानी र ऋण असुलीलाई प्राथमिकता दिनुपर्ने, संस्थामा भएकाे वित्तीय अपचलनमाथि छलफल गरेर आवश्यक कानुनी कारबाहीको प्रक्रियामा लैजाने लगायतका अख्तियारी दिइएकाे छ ।