राष्ट्र बैंकद्वारा भाटभटेनी, नमस्ते र मोर्डन रेमिट्यान्सकाे लाइसेन्स खारेज

-



     सफल आवाज    
     पौष १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । लाइसेन्स खारेजिमा परेका कम्पनीहरुमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार तीनवटै कम्पनीहरुको लाइसेन्स खारेज गरेको जानकारी गराएकाे छ । 

राष्ट्र बैंकका अनुसार विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले  लाइसेन्स खारेज गरिएको छ । याे कारबाहीबाट रेमिट्यान्स सेवा प्रवाहमा थप सुधार आउने आशा गरिएकाे छ । 

कुनै व्यक्ति वा संस्थाले लाइसेन्स खारेज गरिएका कम्पनीहरुसँग लेनदेन गरेकाे भएमा ३५ दिनभित्र लिखित जानकारी दिन राष्ट्र बैंकले सबैमा अनुराेध गरेको प्रकाशित सूचनामा जनाइएकाे छ । बैंकले ताेकेकाे समयावधिमा कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने जनाइएकाे छ ।

यसैबीच राष्ट्र बैंकले विप्रेषण सेवा लिने र दिने सबैलाई सचेत रहेर नियमानुसार काम गर्न अनुराेध गरेकाे छ।