राष्ट्रिय कृषि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

-



     सफल आवाज    
     पौष २९ गते २०८१ मा प्रकाशित




काठमाडौं, २९ पुस । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पौष २८ गते आइतबारको दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका थिए ।

“माटो देखि सफलता सम्म“ भन्ने यसको मूल नाराका साथ २०८१ साल बैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण, र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लि.को स्थापना गरिएको हो । यो कम्पनीले कृषिलाई सजायको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संसाधन विकासमा योगदान पुर्याउँदैछ ।

यस कम्पनीले कृषिको ई–कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम, साथै, कम्पनीले कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन, र क्यानिङ उद्योग स्थापना जस्ता महत्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै, कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत छ ।

कम्पनीको केन्द्रीय कार्यालय लोकन्थली, भक्तपुरमा अवस्थित छ, र हाल जनकपुर शाखा संचालनमा छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ प्रभावकारी सेवा दिने योजना कम्पनीको प्राथमिकतामा छ । यी शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श, र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ ।

हालसम्म कम्पनीमा ७०० भन्दा बढी संस्थापकहरु आवद्ध भइसकेका छन् । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ, जसले यसको दीर्घकालीन लक्ष्यहरुलाई वित्तीय आधार प्रदान गर्दछ । राष्ट्रिय कृषि कम्पनी नेपाल लि. कृषक र उपभोक्ताको हितका लागि प्रतिबद्ध रहँदै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ छ ।

यसको नेतृत्व बैकिङ्ग क्षेत्रमा लामो अनुभव भएका र प्रोग्रेशिभ फाईनान्स लि.मा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका विशाल हुमागाँईले गरेका छन् ।