प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २७औं तथा २८औं साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     पौष २९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २९ पुस । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २७औं तथा २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज पौष २९ गते संस्थाका सञ्चालक समिति अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए ।

उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिएका थिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिनुहुँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगति गरिरहेको जानकारी गराए । साथै संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी शेयरधनीहरुमा आशाको सञ्चार गराएको तथा शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरु कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात स्वीकृत गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिई नियुक्त गरिएको बाह्य लेखापरीक्षक रन्जिव एण्ड एशोसिएट्सको नियुक्ति अनुमोदन गरेको छ । त्यसैगरी २०८१/८२का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत नवीनतम प्रविधिहरु उपयोग गरी आफ्ना सेवाहरु प्रवाह गरिरहेको संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिएका छन ।