
वीरगञ्जमा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल वीरगञ्ज (पर्सा) ३० माघः जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा बुधबार वीरगञ्जमा आयोजित बैङ्क तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका सहभागीहरु । कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थाले ऋणीको धितोवापतको सम्पत्ति लिलाम गर्दा देखावटी रुपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका छन् । तस्बिरः हिमाल लम्साल÷रासस
वीरगञ्ज (पर्सा), ३० माघ । बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज यहाँ आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए।
“धितो स्वीकार गर्ने बेला रु ५० लाख मूल्याङ्कन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने रु २८–३० लाख मूल्याङ्कन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ”, उनले भने, “धितो स्वीकार गर्दा इञ्जिनियरसहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा सो प्रक्रिया किन नअपनाइएको हो? यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ ।”
प्रजिअ अर्यालले धितो लिलाम गर्दा पहिला बनिबनाउ तीन–चार व्यक्ति लगेर प्रक्रिया मात्रै मिलाउने प्रवृत्तिमा सुधार गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए। “बैंक तथा वित्तीय संस्थाले कानुनी प्रक्रिया मात्रै पूरा गरेका देखिन्छन्”, उनले भने, “असल नियत र खराब नियतका ऋणीलाई एउटै नजरले हेर्न हुँदैन । व्यवहारिक र पारदर्शीतालाई पनि ध्यान दिन जरुरी छ ।”
नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा मात्रै ध्यान नदिएर ऋण दिएपछि पनि ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। “धेरै ऋण प्रवाह गर्नेतर्फ मात्रै ध्यान केन्द्रित गर्नुहुँदैन”, उनले भने, “जुन प्रयोजनको लागि ऋण लिएको हो । सोही प्रयोजनमा प्रयोग भयो कि भएन भन्नेतर्फ पनि सचेत हुन जरुरी छ ।”
वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले राष्ट्र बैंकको नीति र निर्देशिका अनुसार सञ्चालन हुँदै आएको बताइन्। “केही संस्थाले गरेका गल्ती र कमजोरीलाई देखाएर अन्यलाई खराब भन्न हुँदैन”, उनले भनिन्, “पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण उठाउन समस्या भइरहेको छ । अर्काेतर्फ संस्थाका कर्मचारीलाई पनि भौतिक आक्रमण भएकोतर्फ सचेत गराउन चाहान्छु ।”
नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफले पछिल्लो समय ऋण असुलीमा चुनौती थपिँदै गइरहेको बताए । “बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलामी गर्दा पारदर्शिता अपनाउनु पर्दछ”, उनले भने। पर्साका प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीमा पछिल्लो समय आर्थिक अपराधका गतिविधिसम्बन्धी उजुरी आउने क्रम बढेको बताए।
“बैंक तथा वित्तीय संस्थाले आर्थिक अपराधका गतिविधिसम्बन्धी अनुसन्धानको क्रममा सहजीकरण गर्न आवश्यक देखिन्छ”, उनले भने। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका गणपति राधेश्याम धिमालले बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय वरिपरि सिसी क्यामेरा जडान गरी कार्यसम्पादनमा पनि प्रविधिको प्रयोग गर्न अनुरोध गरे।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




