अस्पतालले भन्याे, ‘अर्थमन्त्री पौडेल र मेयर आचार्यकाे उपचार उच्च निगरानीमा’

-



     सफल आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ फागुन । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले दिए ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो ।

बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।

वर्न अस्पतालका निर्देशक डा किरण किशाेर नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।

यसैबीच, साे अस्पतालले दुबै जनाकाे अनुहारमा जलन भएकाेले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यक्ता देखिएकाे बताएकाे छ ।