
काठमाडौं, ११ फागुन । प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।
उनले भने, “गजल गायक अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनेछन् । उनलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।” अध्यक्ष मोक्तानका अनुसार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।
सङ्गीतकार दीपक जङ्गमले अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। “उहाँसँग मैले काम गर्ने अवसर पाएको छु । उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुन्छ । त्यसैले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ”, उनले भने।
अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।
मण्डलामा ‘जुन त लग्यो ताराले’ मञ्चन
शनिबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा ‘जुन त लग्यो ताराले’ को मञ्चन सुरु भएको छ । विदेशिन बाध्य बनाउने बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई एक्लो बनाइरहेको यथार्थ र छुटिगएका एक्लो मनहरूको कथालाई नाटकमा प्रस्तुत गरिएको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताए । उनले भने, “आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै देखेका तर बेवास्ता गरिएका साधारण कथा भन्न रुचाउने भएकाले यो विषयलाई नाटकमा ल्याएको हुँ ।
यो कथालाई नाटकमा ल्याउँछु भन्ने पाँच, छ वर्षअघिदेखि नै सोच आएको थियो । तर यसपटक मण्डला थिएटरले ‘ल्याब १६ का प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’ भन्ने जिम्मेवारी सुम्पिएपछि नाटक तयार भयो ।”
निर्देशक सुनुवारले नाटक ‘जुन त लग्यो ताराले’ मा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारले अभिनय गरिरहेकाे जानकारी दिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




