एभरेष्ट बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने

-



     सफल आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ फागुन । एभरेष्ट बैंक लिमिटेडले आइतवारदेखि १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को निष्कासन सुरु गरेको छ। यस ऋणपत्रमा वार्षिक ब्याजदर ७ दशमलव ५० प्रतिशत तोकिएको जनाइएकाे छ।

बैंकले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै ३ अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत लगानीकर्ताहरूको लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणको लागि वितरण गरिनेछ। त्यसमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ।

ऋणपत्रमा आवेदन दिने न्यूनतम संख्या २५ कित्ता तोकिएको छ भने अधिकतम १२ लाख कित्तासम्मको आवेदन दिन सकिनेछ। आवेदनको प्रक्रिया आगामी फागुन २१ गतेदेखि शुरु भएर चैत ३ गतेसम्म चल्नेछ।

ऋणपत्रको ब्याज प्रत्येक आर्थिक वर्षको दुई अर्धवार्षिक अवधिका समाप्तिपछि कर कट्टासहित भुक्तानी गरिने छ। यसका लागि इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस’ रेटिङ्ग दिएको छ, जसले बैंकको वित्तीय स्थिति र दायित्व पूरा गर्ने क्षमतालाई उच्च रूपमा सुरक्षित देखाउँछ।

निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा तोकिएको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवा प्रदान गर्ने बैंक र वित्तीय संस्थाहरूका शाखाहरू र मेरो शेयरू अनलाइन सेवाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ।