विश्व बैंकको प्रक्षेपण: यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने

- मालदिभ्स ९.५, चीन ५ र अमेरिकामा ३.५ प्रतिशतले वृद्धि हुने

-



     सफल आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ पुस । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अहिले विश्व नै कोरोना भाइरसको महामारीकाे कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको र कोरोनाक कारण पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकहरुमा त्यसकाे प्रत्यक्ष मार परेको जनााईएको छ ।

बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स जनवरी २०२१ को रीपोर्टमा नेपाल, भुटान, श्रीलंका, मालदिभ्सको अर्थतन्त्रमा नराम्रो असर गरेको उल्लेख गरिएको छ । बैंकले भनेको छ, कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहन्छ ? भविष्यको गर्भमै रहेकोले आशा गरे जस्तो सुधार हुन समय लाग्छ ।

कोरोनाको असरले गर्दा दक्षिण एशियाको अर्थतन्त्र वर्ष २०२० मा ६.७ प्रतिशतले घटेको छ । बैंकको रीपोर्टमा सन २०२१ मा विश्वको अर्थतन्त्र ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । बैंकले भनेको छ, सन २०२१ मा कोरोना भाइरसविरुद्ध खोप लगाउन शुरु गरिसकेकोले यसको सुधारिएको प्रभाव अर्थतन्त्रमा पर्ने उल्लेख गरिएको छ ।

सन २०२१/२०२२ मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । दक्षिण एशियाको आर्थिक वृद्धिदर ३.३ प्रतिशत पुग्ने आशा गरिएको छ । एशियामा सन २०२१ मा मालदिभ्सले सबैभन्दा बढी ९.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ । २०२१ मा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले घट्ने जनाईएको छ । सन २०२१/२०२२ मा भारतको आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुने उल्लेख छ ।

विश्व बैंकले कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु भईसकेको र यसको उपलव्धताको सकारात्मक आनुमानको आधारमा यो प्रक्षेपण गरेको बताइएकाे छ । सन २०२१ मा अमेरिकाको अर्थतन्त्र ३.५ प्रतिशतले वृद्धि हुने र चीनको अर्थतन्त्रमा ५ प्रतिशतको वृद्धि हुने प्रक्षण गरिएको छ ।