तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड, कर्फ्यू आदेश जारी

-



     सफल आवाज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए।

“प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ”, उनले भने, “प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।” झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

तीनकुने आसपास क्षेत्रमा कर्फ्यू आदेश

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।